पाकिस्तानसँगको चर्किंदो तनावबीच भारतले सिन्धु नदी प्रणाली अन्तर्गत चेनब नदीमार्फत पाकिस्तानतर्फ प्रवाहित हुने पानी अचानक रोकेको छ। पहलगामको भीषण आतंकवादी हमलापछि भारतले पहिलोपटक यस्तो आक्रामक जलनीति अपनाएको हो, जसलाई विश्लेषकहरूले ‘पानीमार्फत युद्धको संकेत’ भन्दै हेरेका छन्।
ब्लूमबर्गको रिपोर्ट अनुसार पाकिस्तानको इन्डस रिभर सिस्टम अथोरिटी (IRSA) का प्रवक्ता मुहम्मद खालिद इद्रीस रानाले चेनब नदीको प्रवाह सामान्यभन्दा झण्डै ९० प्रतिशतले घटाइएको आरोप लगाएका छन्। उनका अनुसार भारतले बिजुली उत्पादनका नाममा सामान्यतः केही घण्टा पानी रोक्ने गरे पनि यसपटकको कदम असाधारण र रणनीतिक हो।
यो जल अवरोधको असर पाकिस्तानका सिँचाइ प्रणालीमा गम्भीर रूपमा पर्नेछ, जहाँ पहिले नै पानीको आपूर्ति २० प्रतिशतले घट्ने आँकलन गरिएको थियो। यस कदमले पाकिस्तानी किसानहरू, खासगरी पंजाब र सिन्ध प्रदेशमा सीधा असर पार्नेछ।
भारतको यो निर्णय पहलगाम आतंकवादी हमलाको सिधा प्रतिक्रिया हो, जहाँ अप्रिल २२ मा बुटवलका सुदीप न्यौपानेसहित २६ जनाको ज्यान गएको थियो। भारतले सार्वजनिकरूपमा पाकिस्तानमाथि आक्रमणको दोष लगाउँदै, बदलाका उपायहरू खोज्ने संकेत दिएको थियो। पाकिस्तानले भने यो घटनामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै आएको छ।
भारतको यो कदमले १९६० मा भएको सिन्धु पानी सन्धीलाई खारेज गर्ने दिशामा लिएको कदम हो, जुन दुई देशबीचको सबैभन्दा संवेदनशील सन्धी मानिन्छ। भारतले चेनबलगायत ६ वटा नदीको पानी बाँडफाँटको व्यवस्था भएको उक्त सन्धी अब कार्यान्वयन नगर्ने संकेत गरिसकेको छ।
दुई देशबीच स्थिति झन् तनावग्रस्त बन्दै गएको छ। सीमा क्षेत्रमा गोलीबारी, ड्रोन खसालिएको आरोप, भारतीय नौसेनाको मिसाइल अभ्यास, र पाकिस्तानको ब्यालिस्टिक मिसाइल परीक्षणले यो तनावलाई सैन्य रुपमै गम्भीर मोडमा लैजाँदैछ।
रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफले भारतसँग युद्धको सम्भावना रहेको चेतावनी दिइसकेका छन्। अर्कोतर्फ, चीन, साउदी अरब, र संयुक्त राष्ट्रसंघले संयमता अपनाउन दुवै पक्षलाई आह्वान गरिरहेका छन्।
भारत–पाकिस्तानबीचको यो जल–राजनीति अब सैन्य टकरावमा बदलिन्छ कि कूटनीतिक वार्ताले समाधान निकाल्छ — यसतर्फ विश्वको चासो गहिरिंदै गएको छ। Mews Khabar ले घटनाक्रमको सम्पूर्ण अपडेट निरन्तर रूपमा पस्कँदै जानेछ।