हेटौँडा । सरकारी स्वामित्वको हेटौँडा सिमेण्ट उद्योग निजीकरण गर्ने सरकारको निर्णयको विरुद्धमा माओवादी केन्द्र मकवानपुरले हेटौँडामा विरोध प्रदर्शन गरेको छ।
१५ वैशाखमा बसेको मन्त्रिपरिषद्को बैठकले हेटौँडा सिमेण्ट उद्योगसहित सात वटा सरकारी स्वामित्वका उद्योगहरू निजीकरण गर्ने निर्णय गरेपछि सो निर्णयको चर्को विरोध भएको हो।
विरोधस्वरूप माओवादी केन्द्र मकवानपुरले बिहीबार मानसचोकबाट जुलुस निकालेर प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ।
जिल्ला इन्चार्ज विजय गौतमको नेतृत्वमा प्रशासन कार्यालय पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठलाई उक्त निर्णयको विरुद्धमा गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षण पत्र बुझाएको थियो।
ध्यानाकर्षण पत्रमा बन्द रहेको हेटौँडा कपडा उद्योग सञ्चालनको माग भइरहँदा अहिले सञ्चालनमा रहेको सिमेण्ट उद्योगलाई निजीकरण गर्न खोज्नु दुर्भाग्यपूर्ण रहेको जनाइएको छ। साथै, सरकारले मुठ्ठीभर दलाल र विचौलियाको पक्षमा निर्णय लिएको आरोप लगाइएको छ।
माओवादी केन्द्र मकवानपुरका संयोजक भीम पाख्रीन र इन्चार्ज विजय गौतमले हस्ताक्षर गरेको पत्रमा हेटौँडा सिमेण्ट उद्योगलाई प्रविधि, संरचना, र प्रशासनिक सुधारसहित नियमित सञ्चालनमा ल्याउन माग गरिएको छ। साथै, उद्योगको कमजोर व्यवस्थापन र कमिसनमुखी प्रवृत्तिका कारण यो अवस्था आएको भन्दै सरकारको भूमिकाप्रति प्रश्न पनि उठाइएको छ।