काठमाडौँ — राजधानीका होटल व्यवसायीले राति १० बजेपछि प्रहरीले होटल, रेष्टुरेन्ट र मनोरञ्जन स्थल जबरजस्ती बन्द गराएको भन्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन्।
जिल्ला होटल व्यवसायी सङ्घ काठमाडौँ र उद्योग वाणिज्य सङ्घ काठमाडौँले संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो व्यवहारले व्यवसाय धराशायी बनाउने गुनासो गरेका हुन्।
व्यवसायीहरूका अनुसार विशेष गरी ठमेल, सुन्धारा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र, बसपार्क र कलंकीजस्ता क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरूको चहलपहल रातको समयमा बढी हुने गर्छ। तर ठमेल बाहेकका अधिकांश क्षेत्रमा अहिले पनि प्रहरीले राति १० बजेपछि होटल, रेष्टुरेन्ट र पसलहरू बन्द गराउँदै आएको छ।
होटल व्यवसायी सङ्घ काठमाडौँका अध्यक्ष सुरेश बरालका अनुसार प्रहरीको यस्तो व्यवहारले पर्यटन प्रवर्द्धनमा अवरोध पुर्याइरहेको छ। उनका अनुसार अधिकांश अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरू बेलुकी ढिलो वा राति हुने भएकाले पाहुनाहरू यही समयमा राजधानी आइपुग्छन्। तर होटल प्रवेश गर्न नपाउँदै प्रहरीले सिटी बजाउँदै बन्द गराउने दृश्यले विदेशी पाहुनालाई चकित र निराश बनाउने गरेको उनी बताउँछन्।
बरालका अनुसार आजको काठमाडौँ २०/२५ वर्षअघिको जस्तो सुनसान छैन। अहिले सडकहरू उज्यालो छन्, नियमित विद्युत् आपूर्ति छ, सीसीटीभी निगरानी छ र सहरको गति पनि छ। यस्तो अवस्थामा सुरक्षा देखाएर होटल व्यवसाय बन्द गराउनु गलत सोच भएको उनले बताएका छन्।
व्यवसायीहरूले होटलहरू रातभर सञ्चालन गर्न दिनुपर्ने वा कम्तीमा मध्यरात १२ बजेसम्म खुला राख्न अनुमति दिनुपर्ने माग गरेका छन्। उनीहरूको भनाइ छ, होटल क्षेत्रमा लाखौँ रुपैयाँ लगानी भएको छ, हजारौँलाई रोजगारी दिएको छ र विदेशी मुद्रा आम्दानीको स्थायी स्रोत बनेको छ। यस्तो अवस्थामा होटल व्यवसाय धराशायी हुने अवस्था आउनु नदिन सरकार संवेदनशील हुनुपर्ने उनीहरूको आग्रह छ।
ज्ञापनपत्रको जवाफमा प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले व्यवसायीको मागका विषयमा सुरक्षा निकायसँग छलफल गर्ने बताएका छन्।