दिल्ली — भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षक गौतम गम्भीरले पाकिस्तानसँग क्रिकेट खेल्न नहुने स्पष्ट धारणा सार्वजनिक गरेका छन्। दिल्लीमा आयोजित एक कार्यक्रममा उनले पाकिस्तानसँग तटस्थ भेन्युमा समेत खेल्न नहुने बताए।
गम्भीरको यो प्रतिक्रिया जम्मू–कश्मीरको पहलगाममा अप्रिल २२ मा भएको आतङ्कवादी हमलापछि आएको हो, जहाँ एक नेपाली नागरिकसहित २६ जनाले ज्यान गुमाएका थिए। सो घटनाको १५ दिनपछि भारतले पाकिस्तानमाथि मिसाइल आक्रमण गरेको छ, जसले दुई देशबीचको तनाव झनै चर्काएको छ।
गौतम गम्भीरले भने, “देशमा जब लाश झर्छ, तब बल्ल सोच्नुपर्छ हामी कससँग खेल्नुपर्छ र कसँग होइन।” उनले क्रिकेट मैदानलाई पनि देशको स्वाभिमानसँग जोडेर हेर्नुपर्ने बताए।
भारतले सन् २०१३ देखि पाकिस्तानसँग कुनै पनि द्विपक्षीय सिरिज खेलेको छैन। यद्यपि, आईसीसीका ठूला प्रतियोगिता र एसिया कपजस्ता क्षेत्रीय टूर्नामेन्टहरूमा भने यी दुई देश एक अर्कासँग भिड्ने गर्छन्।
पछिल्लो पटक भारत–पाकिस्तान भिडन्त सन् २०२५ को च्याम्पियन्स ट्रफीमा दुबईमा भएको थियो। तर अब आउँदै गरेका महिला एकदिवसीय विश्वकप, पुरुष एसिया कप र २०२६ को टी–२० विश्वकपमा पनि यी दुई टोली भिड्ने सम्भावनाहरू छन्।
तर गम्भीरको भनाइ अनुसार, यस्ता टूर्नामेन्टहरूमा पनि पाकिस्तानसँग खेल्नु हुँदैन। यद्यपि, उनले अन्तिम निर्णय सरकारको हुने बताएका छन्।