म्यानचेस्टर सिटीले बर्नमाउथलाई ३–१ गोलअन्तरले पराजित गर्दै प्रिमियर लिग अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ।
गएराति इतिहाड स्टेडियममा भएको खेलमा घरेलु टोली सिटीले पहिलो हाफमै दुई गोल गर्दै दबदबा कायम गरेको थियो। खेलको १४ औं मिनेटमा ओमार मारमुसले पहिलो गोल गर्दै अग्रता दिलाए भने ३८ औं मिनेटमा बर्नान्डो सिल्भाले दोस्रो गोल थपे।
६७ औं मिनेटमा माटेओ कोभ्यासिस रातो कार्ड खाँदै मैदान बाहिरिएपछि सिटी १० खेलाडीमा सीमित भयो। त्यसपछि ७३ औं मिनेटमा बर्नमाउथका लेविस कुकले पनि रातो कार्ड पाएपछि दुवै टोली १०-१० खेलाडीमा सीमित भए।
८९ औं मिनेटमा निको गोन्जालेजले गोल गर्दै सिटीको जित सुनिश्चित गरे। खेलको अतिरिक्त समयको छैटौं मिनेटमा बर्नमाउथका ड्यानियल जाबिसनले सान्त्वना गोल फर्काए।
३७ खेलपछि सिटी ६८ अंकका साथ तेस्रो स्थानमा पुगेको छ। दोस्रो स्थानमा ७१ अंकसहित आर्सनल, चौथोमा न्यूकासल, पाँचौंमा चेल्सी र छैटौंमा एस्टन भिल्ला छन् — ती सबैको ६६ अंक रहेको छ।
लिगको उपाधि यसअघि नै लिभरपुलले जितिसकेको छ। यद्यपि, शीर्ष पाँच स्थानमा पर्न च्याम्पियन्स लिगको टिकेट पक्का गर्न बाँकी खेल निर्णायक हुनेछ।
अब बाँकी अन्तिम चरणका खेलमा सिटीले फुलहम, आर्सनलले साउथह्याम्प्टन, चेल्सीले नटिंघम फरेस्ट र एस्टन भिल्लाले म्यानचेस्टर युनाइटेडसँग खेल्नेछ।