प्रधानमन्त्री केपी शर्मा ओलीसँग युरोपियन युनियनको प्रतिनिधिमण्डलले आज बालुवाटारमा शिष्टाचार भेट गरेको छ। नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जोको नेतृत्वमा आएको टोलीमा भारतस्थित गैरआवासीय तथा काठमाडौँस्थित विभिन्न युरोपेली मुलुकका राजदूतहरूको उपस्थिति थियो।
भेटमा नेपाल–ईयूबीचको ५१ वर्षदेखिको कूटनीतिक सम्बन्धको चर्चा गर्दै प्रधानमन्त्री ओलीले नेपालको शान्ति प्रक्रिया, संविधान निर्माण र पछिल्लो राजनीतिक स्थायित्वबारे जानकारी गराए। उनले अब देश आर्थिक विकास र सुशासनको दिशामा अघि बढेको भन्दै युरोपियन युनियनसहित अन्तर्राष्ट्रिय समुदायसँग लगानी विस्तार र रोजगारी सिर्जनामार्फत सहकार्यको अपेक्षा राखे।
ओलीले “सबैसँग मित्रता, कसैसँग शत्रुता होइन” भन्ने परराष्ट्र नीति अन्तर्गत भारत र चीनसँग सन्तुलित सम्बन्ध राख्ने नेपालको अडान दोहोर्याउँदै अन्य मुलुकहरूसँग पनि मित्रवत् सम्बन्ध विस्तार गर्ने प्रतिबद्धता जनाए।
सगरमाथा संवादको सफलताबारे धन्यवाद दिँदै उनले हिमालदेखि समुद्रसम्मको अवधारणालाई बल दिने लक्ष्यसहित संवादलाई निरन्तरता दिने बताए।
सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माणको प्रगतिबारे जानकारी दिँदै ओलीले अब आयोगहरू सक्रिय हुनेमा विश्वास व्यक्त गरे।
युरोपियन युनियनका राजदूतहरूले शिक्षा, पूर्वाधार, स्वास्थ्य, हरित ऊर्जा, सूचना प्रविधि र जलवायु परिवर्तन लगायतका क्षेत्रमा नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाए। साथै, संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउन पीडितमुखी दृष्टिकोण अपनाउन सुझाव दिए।
भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको समेत उपस्थिति थियो।