रुपन्देहीको भैरहवामा ‘द आर्ट अफ लिभिङ’ आश्रम निर्माण गरिएको छ । सिद्धार्थनगर नगरपालिका–४ मा करिब दुई करोड रुपैयाँको लागतमा एक तल्ले भवन निर्माण गरिएको हो । आश्रममा १० वटा कोठा र एउटा हल रहेको छ । भवन दुई तल्ले बनाउने लक्ष्य भए पनि हाललाई आर्थिक अभावका कारण एक तल्ले मात्र बनाइएको भैरहवा शाखाका संयोजक दीपेन्द्र प्रधानले जानकारी दिए ।
उनका अनुसार आश्रमको निर्माण सहयोगी दाताहरूको आर्थिक समर्थनमा सम्पन्न गरिएको हो । अझै पूर्ण रूपमा भवन निर्माण गर्न करिब दुई करोड रुपैयाँ आवश्यक रहेको भन्दै प्रदेश र स्थानीय सरकारसँग सहयोगको अपेक्षा गरिएको छ । आश्रम साढे ६ कठ्ठा क्षेत्रफलमा फैलिएको छ ।
मंगलबार आयोजित उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य सहभागी थिए । कार्यक्रममा उनले समाजलाई आध्यात्मिक ज्ञान र साधनाको माध्यमबाट सकारात्मक दिशा दिने उद्देश्यले सुरु भएको यो अभियानलाई पूर्ण समर्थन जनाउँदै, यस्तो कार्यले मानसिक स्वास्थ्य, सामाजिक सद्भाव र जीवनको उद्देश्यबारे गहिरो बोध गराउने विश्वास व्यक्त गरे ।
मुख्यमन्त्री आचार्यले समाजमा आध्यात्मिक चेतना विस्तार गर्न प्रदेश सरकार सदैव तयार रहने बताउँदै भने, “हाम्रो जीवन के हो ? कसरी खुशी हुने ? सुखी कसरी बन्ने ? स्वस्थ कसरी बन्ने ? भन्ने प्रश्नमा यस्ता आश्रम र अभ्यास केन्द्रहरूले योगदान पुर्याउनेछन् ।”
द आर्ट अफ लिभिङ नेपालका अध्यक्ष सिद्धेश्वरकुमार सिंहका अनुसार मुलुकभर अहिले तीनवटा आश्रम र २६ वटा योगा केन्द्रहरू सञ्चालनमा छन् । अन्य प्रदेशहरूमा पनि विस्तारको योजना रहेको उनले बताए । साथै भैरहवा आश्रमलाई युवामुखी सीप विकास केन्द्रको रूपमा पनि विकास गरिने लक्ष्य राखिएको छ ।
उद्घाटन अवसरमा निर्माणमा सहयोग पुर्याउने दाताहरुलाई सम्मान गरिएको थियो ।