लुम्बिनी, वैशाख २९ — बुद्ध जयन्तीको अवसरमा आयोजना गरिएको लुम्बिनी सांस्कृतिक तथा खाना महोत्सव २०८२ सोमवारदेखि सुरु भएको छ। होटल व्यवसायी संघ लुम्बिनीसहित विभिन्न संघ-संस्थाहरूको संयुक्त पहलमा आयोजित महोत्सवले ऐतिहासिक, धार्मिक र सांस्कृतिक पक्षलाई उजागर गर्दै बौद्धकालीन नाट्य प्रस्तुतिहरू र रैथाने खानाको संरक्षण र प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।
महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गरेका हुन्। उद्घाटन समारोहमा बोल्दै उनले बुद्धले प्रतिपादन गरेका शान्ति, सहिष्णुता र अहिंसाका सन्देशहरू आजको विश्व परिप्रेक्ष्यमा अझ सान्दर्भिक बन्दै गएको बताएका थिए।
मुख्यमन्त्री आचार्यले भने, “हामी शिर उचो पारेर भन्न सक्छौं, बुद्धको सन्देश नै विश्व शान्तिको मूल आधार हो। लुम्बिनीको पवित्र भूमिमा जन्मिएको हाम्रो पहिचान आज विश्वसामु उजागर हुँदैछ।”
उनले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणपछि व्यवसाय क्षेत्रमा लगानी बढेको उल्लेख गर्दै नियमित अन्तर्राष्ट्रिय उडान नहुनु चिन्ताको विषय भएको बताएका छन्। उनले प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गर्दै चाँडै समाधान खोज्ने प्रयास गरिरहेको जानकारी पनि दिए।
महोत्सवमा देशभरका र अन्तर्राष्ट्रिय बौद्ध धर्मावलम्बीहरू, पर्यटक र स्थानीयको उल्लेखनीय उपस्थिति देखिएको छ। कार्यक्रमले लुम्बिनीको सांस्कृतिक सम्पदा र खानाको विविधतालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन ठूलो भूमिका खेल्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।