लुम्बिनी प्रदेशमा प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम (TVET) क्षेत्रको यथार्थचित्र प्रस्तुत गर्ने ‘टीभीइटी प्रोफाइल’ सार्वजनिक गरिएको छ। सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना र नेपालका लागि स्विट्जरल्यान्डका राजदूत डा. ड्यानिएल माउलीको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा यो बहुप्रतीक्षित दस्तावेज विमोचन गरियो।
सार्वजनिक गरिएको प्रोफाइलले लुम्बिनी प्रदेशमा उपलब्ध प्राविधिक तथा व्यावसायिक तालिमका संरचना, कार्यक्रम, क्षमता, आवश्यकताहरू र चुनौतीहरूको समग्र विवरण प्रस्तुत गरेको छ। यो दस्तावेज अब प्रदेशस्तरको नीति निर्माण, बजेट योजना, तालिम कार्यक्रम व्यवस्थापन, र लगानी आकर्षणमा महत्वपूर्ण आधार बन्ने विश्वास गरिएको छ।
यस कार्यको नेतृत्व सामाजिक विकास मन्त्रालयले गरेको हो। राष्ट्रिय तथ्यांक कार्यालय, CTEVT, CEHRD लगायतका निकायहरूबाट तथ्यांक संकलन गरी व्यापक विश्लेषणपछि यो प्रोफाइल तयार पारिएको हो। समितिहरू गठन गरी तथ्यमा आधारित यो दस्तावेजले अब दोहोरोपन हटाउने, नीति पारदर्शिता बढाउने र सारोकारवाला संस्थाहरूसँग समन्वयलाई सुदृढ बनाउने अपेक्षा गरिएको छ।
मन्त्री तिमिल्सिनाले प्रोफाइललाई दक्ष जनशक्ति उत्पादन, रोजगारी सिर्जना र समावेशी विकासको मार्गचित्र भनेर सम्बोधन गरे। “प्रदेशको सामाजिक र आर्थिक रूपान्तरणमा यो दस्तावेज निर्णायक हुनेछ,” उनले भने।
यससँगै, लुम्बिनी प्रदेशले शिक्षा र रोजगारीबीचको पुल निर्माण गर्ने रणनीतिक यात्रा औपचारिक रूपमा सुरु गरेको छ, जुन अब सरकारी योजनादेखि निजी क्षेत्रको लगानी निर्णयसम्म सबैका लागि मार्गनिर्देशक बन्नेछ।