३० बैशाख, काठमाडौं ।
आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत आजको खेलमा नेपालले हङकङविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। वर्षाले खेल ढिला भएकाले टस जितेको हङकङले फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो।
खेल ५ ओभरमा झारिएको छ, जसअनुसार दुवै टोलीलाई छोटो समयमा उच्च स्कोर बनाउने चुनौती छ। वर्षाका कारण मैदान भिजेकाले खेल निर्धारित समयमा सुरु हुन सकेन।
समूह ‘सी’ मा हाल नेपाल २ खेलबाट ३ अंकसहित शीर्ष स्थानमा रहेको छ भने हङकङले समान खेलबाट २ अंक जोडेको छ। नेपालले बहराइनलाई पराजित गरेको थियो भने हङकङसँगको अघिल्लो खेल वर्षाका कारण रद्ध भएको थियो। त्यसैगरी हङकङ र बहराइनबीचको खेल पनि वर्षाले प्रभावित भएको थियो।
आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण छ — नेपाल शीर्ष स्थान कायम राख्न चाहन्छ भने हङकङले तालिकामा अगाडि बढ्न जित आवश्यक छ।