तुलसीपुर, दाङ | वैशाख २८
दाङको तुलसीपुरस्थित अरणिको मैदानमा आयोजित प्रथम राष्ट्रिय खुला पुरुष खो-खो प्रतियोगिताको उपाधि नेपाल आर्मी क्लबले जितेको छ। फाइनल खेलमा नेपाल आर्मीले लुम्बिनी प्रदेशलाई २०–१६ को अन्तरले हराउँदै विजेता बन्यो।
प्रतियोगिता विजेता बनेको आर्मीले नगद ५० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो। उपविजेता लुम्बिनी प्रदेशले २५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र हात पार्यो। सुदूरपश्चिम प्रदेशले तृतीय स्थान हासिल गर्दै १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्यो।
व्यक्तिगत विधामा पनि आर्मीको दबदबा
नेपाल आर्मीका बेदबहादुर वली प्रतियोगिताको बेष्ट प्लेयर घोषित भए भने उनका टिममेट बिष्णु थारु बेष्ट अट्याकर घोषित भए। बेष्ट डिफेन्डर भने लुम्बिनी प्रदेशका विकास विक घोषित भए।
खासगरी बेदबहादुर वलीलाई विशेष सम्मान दिइएको छ। भारतमा सम्पन्न विश्व खो-खो प्रतियोगितामा नेपाली पुरुष टिमलाई उपविजेता बनाउने योगदानका लागि उनलाई १० हजार नगदसहित सम्मान गरिएको हो।
त्यसैगरी, नेपाली महिला टिम पनि सोही प्रतियोगितामा उपविजेता बनेकोमा प्रशिक्षक उषा कुँवरलाई सम्मान गरिएको छ।
अन्तर्राष्ट्रिय प्रतियोगिता हुने तयारी
जिल्ला खो-खो संघ दाङका अध्यक्ष बालकृष्ण शाहका अनुसार प्रतियोगिता सकिएलगत्तै वैशाख २९ गते नेपाल र भारतबीच अन्तर्राष्ट्रिय मैत्री खेल हुनेछ। भारतबाट आएको टोलीसँग नेपालका दुई टिमले प्रतिस्पर्धा गर्नेछन्, जसको लागि नेपाली टिमको छनोट आइतबार नै गरिएको हो।
प्रतियोगिता लिग कम नकआउट प्रणालीमा खेलाइएको थियो र यसमा सातै प्रदेशका टिमसँगै विभागीय टोली नेपाल आर्मीको सहभागिता रहेको थियो।